१६ जेठ,काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले गणतन्त्र दिवस, २०८० का सन्दर्भमा भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयमा प्रदर्शित ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनीको आज अवलोकन गर्नुभयो ।राससबाट सम्प्रेषित मुलुकको धार्मिक, सामाजिक तथा सांस्कृतिक परिवेश झल्काउने ७७ वटा तस्बिर प्रदर्शनीमा राखिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यही जेठ ११ गते एक समारोहबीच उद्घाटन गर्नुभएको सो प्रदर्शनी सर्वसाधरण सबैका लागि खुला छ । प्रदर्शनी बिहान ७ देखि साँझ ७ बजेसम्म अवलोकन गर्न सकिन्छ ।
विशेषगरी कला, संस्कृतिको क्षेत्रमा केन्द्रित भई सञ्चालित सो प्रदर्शनीमा पूर्वराष्ट्रपति, मुलुकका लब्धप्रतिष्ठित व्यक्तित्वसहित चित्रकला, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा रुचि राख्नेहरू, आमसञ्चारकर्मी र सर्वसाधरण सहभागी भइरहनुभएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १४ गते सो प्रदर्शनी अवलोकन गर्दै गणतन्त्र दिवसको सन्दर्भमा धार्मिक तथा सांस्कृतिक सम्पदाको उजागर गर्न सहयोग पुग्ने सिर्जनशील कार्यक्रम आयोजना गरेकामा राससलाई धन्यवाद दिनुभयो ।
विशेषगरी विभिन्न चाडपर्व, जात्रा, मठमन्दिर, गुम्बा, चैत्य, ताजियाजस्ता मूर्त–अमूर्त संस्कृति एवम् सम्पदासम्बन्धी तस्बिरमा अवलोकनकर्ताको अभिरुचि देखिएको छ । राससले आफ्नो वार्षिकोत्सवका अवसरमा वर्षभर उत्कृष्ट एक सय वटा तस्बिर समेटेर हरेक वर्ष तस्बिर प्रदर्शनी गर्दै आएको छ ।
अवलोकन भ्रमणका क्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द झाले प्रदर्शनी आयोजना गरिएको सन्दर्भमा जानकारी गराउँदै उद्योगमन्त्री रिजाललाई मायाको चिनो प्रदान गर्नुभयो । यसैगरी, महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धकद्वय श्यामप्रसाद रिमाल र सोमनाथ लामिछाने, प्रमुख समाचारदाता उत्तम सिल्वाल, प्रधानसम्पादक एकराज पाठक, आलेख सेवा प्रमुख कृष्ण अधिकारी, प्रशासन प्रमुख शीतलप्रसाद महतोलगायत राससका पदाधिकारी एवम् सञ्चारकर्मीले मन्त्री रिजाललाई स्वागत गर्नुभएको थियो ।